चन्द्रगढी महिला गोल्डकप वैशाख ५ देखि सुरु, विजेतालाई ११ लाख पुरस्कार
झापा, भद्रपुर — आगामी वैशाख ५ गतेदेखि भद्रपुरस्थित मेची रङ्गशालामा चन्द्रगढी महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ। आयोजक चन्द्रगढी युवा क्लबले आज प्रतियोगिताको विस्तृत खेलतालिका सार्वजनिक गरेको हो।
वैशाख ५ देखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले नगद ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ। आयोजकका अनुसार यो पुरस्कार राशि नेपाली महिला फुटबलकै अहिलेसम्मकै सर्वाधिक हो। प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई नगद १० हजार रुपैयाँ प्रदान गरिनेछ।
सार्वजनिक खेलतालिकाअनुसार उद्घाटन खेलमा आरएस पोखरा फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। वैशाख ६ गते भुटानको थिम्पु सिटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड आमनेसामने हुनेछन्।
त्यसैगरी वैशाख ७ गते नेपाल पुलिस क्लब र आयोजक चन्द्रगढी युवा क्लबबीच खेल हुनेछ भने वैशाख ८ गते एपिएफ फुटबल क्लबले ओखलढुङ्गाको पदमा स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
अगिल्ला चरणका खेलहरूअन्तर्गत वैशाख ९ गते पुलिस र आयोजकबीचको विजेतासँग भारतको रानी लक्ष्मीबाई स्पोर्टस् एकेडेमीले खेल्नेछ। वैशाख १० गते एपिएफ र पदमाबीचको विजेतासँग सङ्कटा फुटबल क्लबले प्रतिस्पर्धा गर्ने तालिका छ।
प्रतियोगिताका सेमिफाइनल खेलहरू वैशाख १२ र १३ गते हुनेछन् भने फाइनल खेल वैशाख १४ गते आयोजना गरिनेछ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार रुपैयाँ प्रदान गरिनेछ। त्यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार दिइनेछ।
भद्रपुरको मेची रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रयोजक ओम साई पाथिभरा हस्पिटल रहेको आयोजकले जनाएको छ।