धनकुटाको राजारानीमा १३औँ रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता हुँदै
धनकुटा — धनकुटाको चौबिसे गाउँपालिकास्थित राजारानीमा यही वैशाख १८ गतेदेखि २२ गतेसम्म १३औँ रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था रारा फुटबल क्लब राजारानीले जनाएको छ।
आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष मणि चेम्जोङले प्रतियोगितामा देशभरका आठ वटा प्रतिष्ठित टोलीको सहभागिता रहने जानकारी दिए।
प्रतियोगितामा आयोजक रारा फुटबल क्लब, सलेह फुटबल क्लब (सर्लाही), विर्तामोड युनाइटेड (झापा), आरआइएफसी (काठमाडौं), केराबारी फुटबल क्लब (सुनसरी), धरान फुटबल क्लब (सुनसरी), गाईघाट फुटबल क्लब (उदयपुर) र डाँडाबजार फुटबल क्लब (धनकुटा) प्रतिस्पर्धा गर्नेछन्।
आयोजकका अनुसार प्रथम पुरस्कार रु ७ लाख र दोस्रो पुरस्कार रु ३ लाख रहेको यो प्रतियोगिता जिल्लाकै सबैभन्दा ठूलो धनराशी भएको फुटबल प्रतियोगिता हो।
यो प्रतियोगिता चण्डीपूर्णिमा तथा बुद्धजयन्तीको अवसर पारेर हरेक वर्ष आयोजना हुँदै आएको छ।
रारा फुटबल क्लबका सचिव जीवन कटुवालले प्रतियोगिता सञ्चालनका लागि करिब रु ३६ लाख ५० हजार खर्च हुने अनुमान गरिएको जानकारी दिए।
स्थानीय स्तरमै ठूलो स्तरको प्रतियोगिता भएकाले यसले खेलकुद विकाससँगै पर्यटन र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।