फाप्ला क्रिकेट मैदान निर्माणलाई सरकारले प्राथमिकता दिने
कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मंगलबार मैदानको निरीक्षण गर्दै सुदूरपश्चिम क्षेत्रमा क्रिकेटप्रतिको उच्च आकर्षणलाई ध्यानमा राख्दै निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाइने बताएका हुन्।
‘विगतका सरकारले पनि फाप्लालाई प्राथमिकतामा राखेको रहेछ,’ मन्त्री पोखरेलले भने, ‘अब सरकारले यसलाई थप महत्व दिँदै निर्माण प्रक्रिया अघि बढाउनेछ।’
धनगढी भ्रमणका क्रममा मन्त्री पोखरेल गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको कार्यक्रममा सहभागी भएका छन्। साथै, उनले कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय र दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव आरजु लोहनीले जानकारी दिएका छन्।