प्रधानमन्त्री कपमा सुदूरपश्चिमको तेस्रो जित, मधेश शीर्ष स्थानमा
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले तेस्रो जित हासिल गरेको छ। सोमबार वीरगञ्जमा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई १२ रनले पराजित गरेको हो। लुम्बिनीले भने प्रतियोगितामा हालसम्म एक मात्र जित निकाल्न सकेको छ।
सुदूरपश्चिमले दिएको १६९ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४०.२ ओभरमा १५६ रनमै अलआउट भयो। लुम्बिनीका लागि सन्तोष यादवले ६७ रन र ध्रुव सुनारले ३६ रन बनाए पनि अन्य ब्याटरले साथ दिन सकेनन्। सुदूरपश्चिमका शेर मल्ल र खडक बोहराले समान ३–३ विकेट लिए भने हेमन्त धामीले २ विकेट हात पारे।
यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ४५.४ ओभरमा १६८ रनमा समेटिएको थियो। उसका लागि दीपक बोहराले सर्वाधिक ३० रन बनाए। लुम्बिनीका सन्तोष यादव र अजय चौहानले ४–४ विकेट लिए।
यस्तै, जनकपुरमा भएको अर्को खेलमा घरेलु टोली मधेश प्रदेशले कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। चार खेलबाट ७ अंक जोडेको मधेशले समान अंक भएको आर्मीलाई रनरेटका आधारमा पछि पारेको हो।
कर्णालीले दिएको १३० रनको लक्ष्य मधेशले २४.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। मधेशका लागि अरनिको यादवले अविजित ३२ रन र निरज यादवले ३८ रनको योगदान दिए।
पहिले ब्याटिङ गरेको कर्णाली ३१.२ ओभरमा १२९ रनमा अलआउट भयो। कर्णालीका लागि रवीन्द्र शाहीले ४० रन बनाए भने अन्य ब्याटर सस्तैमा आउट भए। मधेशका आशिक बैठाले ४ विकेट लिए भने विशाल पटेल र अरनिको यादवले २–२ विकेट लिए।