नेपाली टोलीको साहसी प्रदर्शन, इंग्ल्यान्डसँग चार रनले पराजय
काठमाडौँ : आइतबार मुम्बईको वानखेड़े स्टेडियममा सम्पन्न आईसीसी पुरुष टी–२० विश्वकप समूह ‘सी’ को रोमाञ्चक खेलमा नेपाल इंग्ल्यान्डसँग केवल चार रनले पराजित भएको छ। अन्तिम क्षणसम्म संघर्षपूर्ण बनेको खेलमा नेपालले लक्ष्य नजिक पुगेर पनि जित हात पार्न सकेन।
१८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो। दर्शकदीर्घामा उपस्थित नेपाली समर्थकहरूको उत्साहपूर्ण साथका बीच नेपालले उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम ओभरहरूमा इंग्ल्यान्डका बलरहरूले संयम कायम राखे।
यसअघि टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले ७ विकेट गुमाउँदै १८४ रन बनायो। ज्याकोब बेथेलले ३५ बलमा ५५ रन र कप्तान ह्यारी ब्रुकले ३२ बलमा ५३ रनको महत्वपूर्ण योगदान दिए। विल ज्याक्सले १८ बलमा अविजित ३९ रन बनाउँदै १ विकेटसमेत लिएर ‘प्लेयर अफ द म्याच’ घोषित भए।
नेपालका बलरहरूले सुरुदेखि नै दबाब कायम राखे। दीपेन्द्र सिंह ऐरीले २३ रन खर्चेर २ विकेट लिए भने ब्याटिङमा २९ बलमा ४४ रन बनाए। नन्दन यादवले २५ रनमा २ विकेट लिँदा सन्दीप लामिछानेले १ विकेट लिए।
जवाफी ब्याटिङमा लोकेश बामले २० बलमा ३९ रन र कप्तान रोहित पौडेलले ३४ बलमा ३९ रन बनाउँदै नेपालको जितको आशा जीवित राखे। ऐरीको अन्तिम ओभरतिरको आक्रामक ब्याटिङले खेललाई रोमाञ्चक बनाए पनि जित भने इंग्ल्यान्डको पोल्टामा गयो।
इंग्ल्यान्डका लागि लियाम डसनले २१ रनमा २ विकेट लिए भने विल ज्याक्सको किफायती बलिङ निर्णायक सावित भयो।
पराजयका बाबजुद बलियो टोली इंग्ल्यान्डविरुद्ध नेपालको यो प्रदर्शनले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेपालको उदीयमान क्षमतालाई फेरि एकपटक प्रमाणित गरेको छ।