इंग्ल्याण्डसँग नेपाल ४ रनले पराजित
आईसीसी टी–२० विश्वकपअन्तर्गत आइतबार भएको रोमाञ्चक खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको छ। भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा सम्पन्न खेलमा नेपालले अन्तिम क्षणसम्म संघर्ष गरे पनि लक्ष्य पूरा गर्न सकेन।
इंग्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए। २९ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरे।
त्यसैगरी, लोकेश बमले २० बलमा ३९ रनको विस्फोटक पारी खेले, जसमा ४ चौका र २ छक्का समावेश थिए। कप्तान रोहित पौडेलले पनि ३४ बलमा ३९ रन जोड्दै टोलीलाई जित नजिक पुर्याए। उनले २ चौका र २ छक्का प्रहार गरे।
इंग्ल्याण्डका बलर लियाम डसनले २ विकेट लिए भने साम करन, विल ज्याक्स, मार्क वूड र जोफ्रा आर्चरले समान १–१ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। इंग्ल्याण्डका ज्याकब बेथेलले ३५ बलमा ५५ रन बनाए, जसमा ४ चौका र ४ छक्का समावेश थिए।
ह्यारी ब्रुकले ३२ बलमा ५३ रन जोड्दा विल ज्याक्सले १८ बलमा ३९ रनको आक्रामक पारी खेले।
नेपालका लागि बलिङतर्फ नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिए। सन्दीप लामिछाने र शेर मल्लले समान १–१ विकेट लिए।
विश्वकपमा नेपाल समूह ‘सी’ मा रहेको छ। उक्त समूहमा नेपालसँगै इंग्ल्याण्ड, वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड रहेका छन्।