मधेश–पहाड सम्बन्ध जोड्न प्राध्यापक यादवको पाँचदिने अभियान
ओखलढुंगा, २९ माघ — रसायनशास्त्रका प्राध्यापक चण्डेश्वर यादव मधेश–पहाड सम्बन्ध सुदृढ गर्ने उद्देश्यसहित पहाडी जिल्लाको पाँचदिने अभियानमा जुटेका छन्। प्रयोगशालामा अनुसन्धानमा व्यस्त रहने यादव यसपटक सामाजिक ‘ल्याव’ मा समाजको मनोविज्ञान बुझ्न पहाडका गाउँगाउँ पुगेका हुन्।
उदयपुरबाट खोटाङ हुँदै मंगलबार ओखलढुंगा आइपुगेका यादव वरिष्ठ पत्रकार रामरिझन यादव र दिवाकर यादवसँग मधेश र पहाडी समाजबीचको सम्बन्धका विविध पक्षबारे छलफलमा संलग्न भए। “हामीले मधेश र पहाडको सम्बन्ध जोड्न चाहेका छौं, त्यो सामाजिक र राजनीतिक हिसाबले सम्भव छ,” यादवले बताए।
ओखलढुंगाको गणेशस्थलमा आयोजित कार्यक्रममार्फत स्थानीयलाई सम्बोधन गर्दै वरिष्ठ पत्रकार रामरिझन यादवले मधेशबाट दुई प्रमुख मुद्दा लिएर पहाड आएको जानकारी दिए। “भाषा आयोगले छ वर्षअघि सिफारिस गरेको प्रादेशिक सरकारी कामकाजको भाषाका रूपमा लिम्बु र मैथिलीलाई मान्यता दिनु पर्ने र पहाडमा उम्मेदवार बनेका मधेशी मूलका उम्मेदवारलाई जिताउन पहल हुनु पर्ने हाम्रो माग हो,” उनले भने।
उनका अनुसार मधेशले विगतमा पहाडका उम्मेदवारलाई जिताएर सांसद र मन्त्री बनाएको उदाहरण दिँदै अब मधेशी मूलका उम्मेदवार पनि पहाडबाट निर्वाचित हुने वातावरण बनेमा राष्ट्रिय एकता सुदृढ हुने विश्वास व्यक्त गरे।
पाँच दिनको यात्राका क्रममा टोलीले उदयपुर, खोटाङ र ओखलढुंगाका गाउँ तथा बजार क्षेत्रमा पर्चा वितरण, माइकिङ र अन्तरक्रियामार्फत आफ्ना धारणा सार्वजनिक गरेको थियो। उनीहरूले पहाडको चेतनास्तर स्थिर र सन्तुलित देखिएको अनुभव साझा गर्दै मधेशको मत चलायमान रहेको विश्लेषण गरेका छन्।
कोसी प्रदेशबाट प्रकाशित मैथिलीभाषी पत्रिका ‘मिथिला टाइम्स’ले यात्राको संयोजन गरेको थियो। अभियान टोली पाँचदिने कार्यक्रम सकेर पुनः मधेश फर्किएको जनाएको छ।