सल्यानमा विद्यार्थी संगठन विस्तारमा हेमन्त वलीको सक्रियता, निराजन माविमा इकाइ समिति गठन
सल्यान, १९ माघ । क्रान्तिकारी कम्युनिस्ट पार्टी सल्यानले जिल्लाका शैक्षिक संस्थाहरूमा साङ्गठनिक विस्तार अभियानलाई तीव्रता दिएको छ। सोही क्रममा जिल्लाको सिद्धकुमाख गाउँपालिका-३, ढोरचौरस्थित निराजन माध्यमिक विद्यालयमा विद्यार्थीहरूको भेला सम्पन्न गरी नयाँ संगठन निर्माण गरिएको छ। लक्ष्मी गिरीको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को इकाइ समिति चयन गर्दै पार्टीले आफ्नो साङ्गठनिक आधार बलियो बनाएको हो।
पार्टीले हालै मात्र सल्यान जिल्ला सेक्रेटरी हेमन्त वलीलाई ४ नम्बर क्षेत्रीय ब्युरो विद्यार्थी फ्याक्सन इन्चार्जको महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको थियो। जिम्मेवारी सम्हालेको केही समयभित्रै वलीले संगठन निर्माणमा देखाएको यो सक्रियताले पार्टीभित्र उनको कार्यकुशलता र निष्ठाको प्रशंसा भइरहेको छ। छोटो समयमै विद्यार्थीहरूलाई गोलबन्द गर्न सफल हुनुले सल्यानमा पार्टीको युवा नेतृत्व कति जुझारु छ भन्ने कुरालाई थप पुष्टि गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै फ्याक्सन इन्चार्ज हेमन्त वलीले क्रान्तिको वास्तविक जग विद्यार्थी नै भएको दाबी गर्नुभयो। उहाँले देशमा आमूल परिवर्तनका लागि विद्यार्थीहरूको भूमिका अपरिहार्य रहेको चर्चा गर्दै इतिहासका सबै ठूला आन्दोलन र परिवर्तनमा विद्यार्थी शक्तिले नै निर्णायक भूमिका खेलेको स्मरण गराउनुभयो। वलीले सचेत र संघर्षशील विद्यार्थीहरू संगठित नभएसम्म समाज रूपान्तरणको सपना अधुरो रहने भन्दै विद्यार्थीहरूलाई क्रान्तिकारी विचार आत्मसात् गर्न आग्रह गर्नुभयो।
त्यसैगरी विद्यार्थी संयोजक हेमन्त डाँगीले विद्यार्थीहरू परिवर्तनको मेरुदण्ड भएको बताउँदै सही विचार र नेतृत्वले मात्र समाजलाई सही दिशामा लैजान सक्ने धारणा राख्नुभयो। उहाँले विद्यार्थीहरूलाई आफ्नो हक र अधिकारका लागि लड्दै कर्तव्यनिष्ठ भएर अघि बढ्न सुझाव दिनुभयो। भेलामा सहभागी विद्यार्थीहरूले नेतृत्वको सक्रियताले आफूहरूमा नयाँ उत्साह थपिएको र संगठनलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
पार्टीले पछिल्लो समय अघि सारेको निर्वाचन बहिष्कारको नीति र संगठन सुदृढीकरण अभियानअन्तर्गतका कार्यक्रमसंगै संगठन निर्माण कार्यलाईपनि निरन्तरता दिइएको हो। सल्यानमा युवा नेतृत्वको प्रभावकारी समन्वयका कारण संगठन विस्तारले गति लिएको र आगामी दिनमा जिल्लाभरका अन्य विद्यालय तथा क्याम्पसहरूमा पनि संगठन निर्माण कार्यलाई निरन्तरता दिइने पार्टी स्रोतले जानकारी दिएको छ।