घोषणापत्रमा बालअधिकार समावेश गर्न राष्ट्रिय अभियानको आग्रह
काठमाडौं, फागुन १२ — बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले आसन्न निर्वाचनलाई लक्षित गर्दै सबै राजनीतिक दललाई आफ्ना घोषणापत्रमा बालअधिकारसम्बन्धी विषय समावेश गर्न आग्रह गरेको छ।
अभियानले बालअधिकारको संरक्षण र प्रवर्द्धनसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राख्न ध्यानाकर्षण गराउँदै राजनीतिक दलका प्रतिनिधिलाई २५ बुँदे सुझावपत्र हस्तान्तरण गरेको जनाएको छ।
अभियानले सबै स्थानीय तह, प्रदेश र सङ्घीय स्तरमा बालअधिकार सुनिश्चित गर्न नेपालको संविधान, सन् १९८९ को बालअधिकारसम्बन्धी महासन्धि, बालबालिकासम्बन्धी ऐन, २०७५, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा राष्ट्रिय बालबालिका नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ।
यस्तै, बालमैत्री स्थानीय शासन, बालविवाहमुक्त, बालश्रममुक्त, पोषणयुक्त, वातावरणमैत्री तथा बाल हिंसामुक्त स्थानीय तह निर्माणलाई घोषणापत्रमा प्राथमिकतासाथ समावेश गर्न आग्रह गरिएको छ। सडक बालबालिकामुक्त स्थानीय तह निर्माण र बालबालिकाको हकहित तथा अधिकारको सुनिश्चितता गर्ने स्पष्ट प्रतिबद्धता जनाउन पनि अभियानले राजनीतिक दलसमक्ष अनुरोध गरेको छ।
अभियानले बालअधिकारलाई नीति तथा कार्यक्रमको केन्द्रीय एजेन्डाका रूपमा अघि बढाउन दलहरूलाई आह्वान गरेको छ।