आईसीसी टी–२० विश्वकपमा इटालीसँग नेपालको लज्जास्पद हार
काठमाडौं — आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न खेलमा नेपालले इटालीसँग १० विकेटको लज्जास्पद हार व्यहोरेको छ। १ सय २४ रनको सामान्य लक्ष्य पछ्याएको इटालीले ११ ओभर ४ बलमै कुनै विकेट नगुमाई सहज जित हात पारेको हो।
नेपालले दिएको १२३ रनको लक्ष्य इटालीका ओपनर दाजुभाइ एन्थोनी मोस्का र जस्टिन मोस्काले अविजित साझेदारी गर्दै पूरा गरे। एन्थोनीले ३२ बलमा ६२ रन बनाउँदा तीन चौका र छ छक्का प्रहार गरे। जस्टिनले ४४ बलमा ६० रन जोड्दै पाँच चौका र तीन छक्का हाने।
नेपाली बलिङ पूर्ण रूपमा प्रभावहीन देखियो। कुनै पनि बलरले विकेट लिन सकेनन्। ललित राजवंशीले १ ओभरमा १९ रन खर्चिए भने नन्दन यादवले १ ओभरमा १२ रन दिए। करण केसीले २ ओभरमा २१ रन खर्चिंदा सन्दीप लामिछानेले ३ ओभरमा ३१ रन दिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १२३ रनमै सीमित भयो। सुरुवाती क्रमका ब्याटरले टिक्न नसक्दा नेपाल दबाबमा परेको थियो।
आरिफ शेखले सर्वाधिक २७ रन (२४ बल, ३ चौका) बनाए। कप्तान रोहित पौडेलले १४ बलमा २३ रन जोड्दा दुई छक्का प्रहार गरे। आशिफ शेखले २० बलमा २० रन बनाए भने दीपेन्द्रसिंह ऐरी १३ ओभर ५ बलमा आउट हुँदा नेपाल ९६ रनको अवस्थामा थियो।
ओपनर कुशल भुर्तेल १० बलमा ५ रन बनाउँदै दोस्रो ओभरमै आउट भए। लोकेश बम र गुल्सन झा समान ३–३ रनमै पभेलियन फर्किए। करण केसीले ११ बलमा १८ रन जोड्दै केही प्रतिरोध गर्ने प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेन।
इटालीका क्रिशन कालुगामेजले तीन विकेट लिए भने बेन मानेन्टीले दुई विकेट झारे। अली हसन र जेजे स्मट्सले समान एक–एक विकेट लिए।
सुरुवाती ब्याटरको असफलता र बलिङको कमजोर प्रदर्शनका कारण नेपाल प्रतियोगितामा निराशाजनक नतिजा व्यहोर्न बाध्य भएको छ।