नेपाली क्रिकेट टोलीको नयाँ आधिकारिक जर्सी सार्वजनिक
काठमाडौँ । सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ आधिकारिक जर्सी सोमबार सार्वजनिक गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) र आधिकारिक किट पार्टनर ‘टी१० स्पोर्ट्स्’को सहकार्यमा आयोजित कार्यक्रममा जर्सी सार्वजनिक गरिएको हो। सो अवसरमा विश्व भ्रमणमा निकालिएको आईसीसी टी–२० विश्वकप ट्रफी पनि अनावरण गरिएको थियो।
कार्यक्रममा नेपाली क्रिकेट टोलीका प्रतिनिधि, क्यान पदाधिकारी तथा क्रिकेट प्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आईसीसी विश्वकप क्रिकेटको ट्रफीलाई प्रदर्शनीका रूपमा राखिएको कार्यक्रममा सहभागीहरूले नजिकबाट अवलोकन गर्ने अवसर पाएका थिए।
नेपालले आगामी विश्वकपसँगै तेस्रोपटक आईसीसी टी–२० विश्वकप खेल्न लागेको हो। नयाँ जर्सीले नेपाली क्रिकेटको पहिचान र गौरव झल्काउने विश्वास क्यानले व्यक्त गरेको छ।