लमजुङमा ३०औँ सिर्जना कप र माघी मेलाको रौनक, फुटबल विजेतालाई डेढ लाख पुरस्कार
लमजुङको मर्स्याङ्दी गाउँपालिका-६, ठुलीबेसीमा आगामी पौष २७ गतेदेखि माघ ३ गतेसम्म ३०औँ सिर्जना कप तथा माघी मेला-२०८२ भव्य रूपमा आयोजना हुने भएको छ।
आयोजक सिर्जना युवा क्लबले ‘माघी मेला हाम्रो पहिचान, इतिहास, कला र संस्कृतिको संरक्षण हाम्रो अभियान' भन्ने मूल नाराका साथ मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। क्लबले शुकवार आयोजित पत्रकार सम्मेलन मार्फत माघे संक्रान्तिको शुभकामना दिँदै सम्पूर्ण खेलप्रेमी र कलाप्रेमी महानुभावहरूलाई मेलामा सहभागी हुन ‘चुल्हे निम्तो दिएको छ।
मेलाको मुख्य आकर्षणको रूपमा ठुलीबेसी सिर्जना युबा क्लब खेल मैदानमा खुल्ला फुटबल प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगिताको उपाधि जित्ने टिमले नगद १ लाख ५० हजार रुपैयाँसहित सिर्जना कप, स्वर्ण पदक र प्रमाण–पत्र हात पार्नेछ। त्यस्तै, द्वितीय हुने टिमलाई ७५ हजार रुपैयाँ, रजत पदक र प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएको छ। सेमिफाइनलसम्म पुग्ने टिमलाई १५ हजार रुपैयाँ र क्वाटर फाइनल खेल्ने प्रत्येक टिमलाई प्रोत्साहन स्वरूप १ हजार रुपैयाँ उपलब्ध गराइनेछ। व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई जनही ७ हजार रुपैयाँ ट्रफी, सर्बोत्कृष्ट गोलरक्षक र सर्बोत्कृष्ट गोलकर्तालाई जनही ५ हजार रुपैया, ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष देविराम अधिकारीले जानकारी दिएका छन।
खेलकुदसँगै मेलामा स्थानीय मौलिक संस्कृति र परम्परालाई विशेष प्राथमिकता दिइएको छ। कार्यक्रममा गुरुङ, मगर, घले, घर्ती र तमु समुदायको मौलिक पहिचान बोकेको ठाडो भाकाको प्रस्तुति रहनेछ भने परम्परागत झाँक्री प्रदर्शन र स्थानीय कलाकारहरूको विविध सांस्कृतिक कार्यक्रमले दर्शकलाई मनोरञ्जन दिनेछन्। साथै, शारीरिक बलको परीक्षण हुने १० किलो तौलको छेलो फाल्ने प्रतियोगिता र अन्य विभिन्न खेलकुद गतिविधिहरू पनि मेलाका आकर्षण रहनेछन्।
आयोजकका अनुसार यस वर्षको मेलामा करिब ५ हजार दर्शकको उपस्थितिको अपेक्षा गरिएको छ। पत्रकार सम्मेलनमा क्लबका उपाध्यक्ष करण थापाले प्रेस विज्ञप्ति वाचन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद परियारले गर्नुभएको थियो। सिर्जना युवा क्लबले आयोजना गर्ने यो मेलाले स्थानीय कला-संस्कृतिको जगेर्ना गर्नुका साथै युवाहरूमा खेलकुदप्रति रुचि जगाउने र सामाजिक एकतालाई अझ मजबुत बनाउने विश्वास लिएको छ।
