३३औँ त्रिवेणी कप फुटबल : एपीएफको विजयी सुरुआत, भोलि दुई रोचक प्रतिस्पर्धा
बेंसीशहर, लमजुङ । गण्डकी प्रदेशकै प्रतिष्ठित फुटबल प्रतियोगिता 'त्रिवेणी कप' को ३३औँ संस्करण शनिबारदेखि लमजुङको बेंसीशहरमा भव्य रूपमा सुरु भएको छ। बेंसीशहर नगरपालिका-८, सहजीस्थित खेलमैदानमा भएको उद्घाटन खेलमा साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले सुन्दरबजार फुटबल क्लबमाथि ५-० को फराकिलो जित निकाल्दै आगामी यात्रा बलियो बनाएको छ।

एपीएफको एकतर्फी जितमा स्ट्राइकर समीर थोकर चम्किए। उनले खेलको २०औँ मिनेटमा पहिलो गोल गर्दै टोलीको खाता खोलेका थिए भने ३०औँ र दोस्रो हाफको २५औँ मिनेटमा थप गोल गर्दै प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गरे। समीरको आक्रामक खेलकै मद्दतले एपीएफले सुरुवातमै दबदबा कायम गर्न सफल भयो।
पहिलो हाफमै ३-० को अग्रता बनाएको एपीएफका लागि प्रदीप लामाले ३७औँ मिनेटमा एक गोल थपेका थिए। दोस्रो हाफमा पनि एपीएफले आफ्नो लय कायमै राख्यो। मणि लामाले दोस्रो हाफको १८औँ मिनेटमा चौथो गोल गरे भने समीरले ह्याट्रिक पूरा गरेसँगै एपीएफ ५-० ले विजयी भयो। उत्कृष्ट प्रदर्शन गरेका समीर थोकर 'म्यान अफ द म्याच' घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे।
पहिलो गोलको सम्मान स्वरूप समीरले हङकङ निवासी रामकुमार गुरुङका तर्फबाट थप ५ हजार रुपैयाँ पुरस्कार समेत हात पारे। दुईजना विदेशी खेलाडीसहित मैदान उत्रिएको सुन्दरबजार फुटबल क्लबले भने आशातित प्रदर्शन गर्न सकेन। एपीएफको बलियो रक्षापंक्ति तोड्न नसक्दा र समन्वय अभाव हुँदा सुन्दरबजार गोलरहित बन्दै प्रतियोगिताबाट बाहिरिन पुग्यो।
प्रतियोगिताअन्तर्गत आइतबार दुईवटा रोचक भिडन्त हुने आयोजकले जनाएको छ। बिहान ११ बजे हुने पहिलो खेलमा ए डिभिजन टोली एनआरटी काठमाडौं र भानु युनाइटेड (चक्रपथ) भिड्नेछन्। त्यस्तै, दिउँसो २ बजे हुने दोस्रो खेलमा सूर्यपुर चितवनले घरेलु टोली लमजुङ मर्स्याङ्दी युवा क्लब बेंसीशहरको सामना गर्नेछ।
यस वर्ष त्रिवेणी कपको पुरस्कार राशिमा निकै आकर्षक वृद्धि गरिएको छ। प्रतियोगिताको विजेताले नगद १२ लाख रुपैयाँसहित त्रिवेणी कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले ६ लाख रुपैयाँ पाउनेछ। व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ।
आयोजकले यस वर्ष एउटा महत्वपूर्ण परिवर्तन गरेको छ। विगतका वर्षहरूमा सेमिफाइनलमा पुगेर पराजित हुने दुई टोलीलाई दिइँदै आएको २ लाख रुपैयाँ प्रोत्साहन रकम यसपटकदेखि कटौती गरिएको छ। १५ पुस तमू ल्होसारको अबसरमा संचालन हुने त्रिबेणी साझ सहित गरेर प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड ३२ लाख ३५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले खेलकुदको विकासका लागि आवश्यक आर्थिक,भौतिक, नैतिक सहयोगका लागि सधै तयार रहेको र विशेष गरि भौतिक संरचना निर्माणमा प्रदेश सरकार सकारात्मक रहेको बताए। यस्तै, बेंसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले सहजी खेलमैदानको स्तरोन्नतिका लागि सबै पक्षको सहकार्य र लगानी अपरिहार्य रहेकोमा जोड दिए।

उद्घाटन समारोहमा खेल क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पूर्वखेलाडी सुवास गुरुङ र बेलायतस्थित गोर्खा कपका खेल संयोजक क्याप्टेन दीपक घलेलाई सम्मान गरिएको थियो। त्रिवेणी युवा क्लबका अध्यक्ष टेकजङ गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधि, र खेलप्रेमी दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो।
