गोरखा-चितवन चल्ने गाडी ऐना पहरामा दुर्घटना
गोरखा-चितवन चल्ने बस तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐना पहरा क्षेत्रमा आज दिउँसो दुर्घटनामा परेको छ। ग २ ख १०७७ नम्बरको बस दुर्घटनामा परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले बताए।
यात्रुहरू ऐना पहरा घुम्न गएका थिए। केही यात्रु भने बसभित्रै थिए। रोकिराखेको बस पार्किङबाट स्टार्ट गरी सडकमा ल्याउन लाग्दा हुत्तिएर केही मिटर तल खसेको हो। दुर्घटनामा चालकसहित ५ जना यात्रु घाइते भएका छन्।
घाइतेहरूलाई आँबुखैरेनीस्थित अस्पतालमा उपचारका लागि लगिएको छ। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्। ऐना पहरा क्षेत्रमा यसअघि पनि पटकपटक दुर्घटना भएको थियो।