प्रधानमन्त्री ओलीले आज परवानीपुर गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गर्ने
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बाराको परवानीपुर गाउँपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओली सुरुमा महोत्तरी जाने र २ बजेपछि मात्रै बाराको आउने कार्यक्रम रहेको परवानीपुर गाउँपालिकाका प्रमुख रामक्षेत्री कुर्मीले जनाएका छन् ।
आठ वर्षदेखि भाडाको घरबाट कार्यलय सञ्चालन गर्दै परवानीपुर गाउँपालिकाले प्रधानमन्त्री ओलीबाट आज आफ्नो नयाँ प्रशासनिक भवन उद्घाटन गर्न लागेको हो ।
परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले नयाँ आर्थिक वर्षदेखि नयाँ भवनबाट सेवा प्रवाह गर्ने बताएका छन् । उनले साँघुरो भाडाको घरबाट सेवा दिन धेरै समस्या झेल्दै आएको बताए ।
‘हामीलाई सवारी पार्किङको धेरै समस्या थियो, सडकमै पार्किङ लगाएका राख्नुपर्थ्यो, सेवाग्राही आउँदा बस्ने ठाउँ पनि थिएन’ प्रमुख प्रशासकीय अधिकृत रौनियारले भने ‘एउटै कोठामा ३ वटासम्म शाखा राखेर एउटै टेबलमा २/३ जना कर्मचारी बसेर काम गर्नुपर्ने बाध्यता थियो अव नयाँ भवनबाट सेवा दिन पाउँदा खुसी छौ ।’
पालिकाले मासिक ५० हजार कार्यालयको भाडा बुझाउँदै आएको थियो । २०७४ को पहिलो स्थानीय तह निर्वाचन पछि शिलान्यास भएको पालिकाको भवन बजेट अभावले ढिलो गरी सम्पन्न भएको हो ।
उत्तर तर्फ जीतपुर सिमरा उपमहानगर र पश्चिम दक्षिणतर्फ वीरगन्ज महानगरसँग जोडिएको यो जिल्लाको सबैभन्दा सुगम गाउँपालिका पनि हो । यो पथलैया–वीरगन्ज औद्योगिक कोरिडोरसँग जोडिएको छ ।