१४ किलो सुन प्रकरण: सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत पाटनले १४ किलो सुन तस्करी प्रकरणमा सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
उच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र हेमन्त रावलको इजलासले बिहीबार उनीहरूलाई थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालत काठमाडौंले यसअघि थुनामा पठाउने भनी गरेको आदेश मिलेकै देखिएको भन्दै उच्चले सोही आदेश सदर गरेको छ ।
जिल्लाले थुनामा पठाउने आदेश गरेपछि उनीहरू उच्च अदालत गएका थिए । उच्चले थुनामा पठाएपछि उनीहरू सर्वोच्च अदालतसम्म जान पाउने भएका छन् । सुन तस्करीको अभियोगमा थुनामा रहेका लेकबहादुर तामाङ, रमेश देउला, अनिल श्रेष्ठ, राधाकृष्ण श्रेष्ठ,शेरबहादुर बस्नेत, कृष्णकुमार श्रेष्ठ,मीनबहादुर घले र जीवन गुरुङलाई उच्चले थुनामा पठाएको हो ।
यो विवादमा नेपाल सरकारका तर्फबाट उच्चमा निवेदन पुगेको थियो । जसअनुसार प्रतिवादीको तर्फबाट २०८० चैत ७ गते र सरकारवादीको तर्फबाट २०८१ जेठ १७ गते निवेदन दर्ता गराइएको हो । फ्लाइ दुबईको फ्लाइटबाट १४ किलो सुन लिएर आएका गोरखाका चन्द्र घलेलाई पक्राउ गरेपछि तस्करीको बारेमा रहस्य खुलेको थियो ।