कञ्चनपुरमा आगलागी हुँदा २५ लाख रूपैयाँ बढीको क्षति
काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा २५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।
शुक्रबार दिउँसो विद्युत सर्ट भएर आगलागी हुँदा ठगुन्नाको घरगोठ जलेर नष्ट भएको हो । आगलागी हुँदा ३ वटा बाखा समेत मरेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
घरसँगै गरगहना, अन्न, कपडा, महत्वपूर्ण कागजपत्र र ५ लाख रुपैयाँ नगद जलेर नष्ट भएको प्रहरीले जानकारी दिएका हो । स्थानीय बासीन्दा र प्रहरीले आगलागीको नियन्त्रणमा लिएका थिए ।
आगलागी पीडित परिवारलाई नेपाल रेडक्रस उपशाखा झलारीले त्रिपाल, भाँडाकुडा र कपडा लगायत सामग्री प्रदान गरेको छ ।