मजदुर कुटिएको बिरोधमा गोरखामा यातायात बन्द
दृष्टि सञ्चार संवाददाता । यातायात मजदुर कुटिएको विरोधमा गोरखामा यातायात व्यवसायीले सार्वजनिक यातायात बन्द गरेका छन् ।
आइतबार फागु फूर्णिमाको दिन ग १ ख ७१९१ नम्बरको बस चालक अर्जुन परियार र सहचालक टीकाराम नेपालीमाथि गोरखा नगरपालिका–७ धारापानीमा स्थानीय युवाले कुटपिट गरेका थिए ।
कुटपिटमा संलग्नहरुलाई कारबाहीको माग गर्दै मजदुरहरुले बुधबार बिहानदेखि यातायात बन्द गराएका हुन् । बन्दका कारण जिल्लाभित्रै चल्ने र जिल्लाबाहिर जाने सार्वजनिक यातायात चलेका छैनन् ।
धारापानीका हरि श्रेष्ठ, धुव्र श्रेष्ठ र समित श्रेष्ठसहितको टोलीले यातायात मजदुरमाथि कुटपिट गरेको अखिल नेपाल यातायात मजदुर संघका जिल्ला अध्यक्ष निर्मल रानाले बताए । यातायात मजदुरमाथि कुटपिट गर्नेहरुमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिए पनि बेवास्ता गरेको अध्यक्ष रानाले बताए ।
दोषीमाथि कारबाहीको माग गर्दै मंगलबार अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।
बन्दका कारण यात्रुहरु बिहानै देखि सडकमा अलपत्र परेका छन् । पोखरा जान भन्दै परिवारसहित बिहान ५ बजे हरमटारीचोकमा आइपुगेका बारपाक सुलिकोट गाउँपालिका–३ का मिलन गुरुङले गाडी बन्द हुँदा समस्या भएको बताए । प्रमुख जिल्ला अधिकारी भोला दाहालले यातायात सञ्चालनको विषयमा छलफल भइरहेको बताए ।