शान्तिनगरमा मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते
दृष्टि सञ्चार संवाददाता । काठमाडौंको शान्तिनगरमा मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्रीसहित तीनजना घाइते भएका छन् । तीनकुनेबाट बानेश्वरतर्फ आउँदै गरेको मोटरसाइकले बुधबार बिहान पैदलयात्री दोलखाका ४८ वर्षीय ध्रुव शिवाकोटी र काभ्रेकी २६ वर्षीया विमला तामाङलाई ठक्कर दिएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक काभ्रेका ३२ वर्षीय देवकुमार तामाङ पनि घाइते भएका छन् । जेब्रा क्रसिङबाट बाटो काट्दै गरेका शिवाकोटी र तामाङलाई मोटरसाइकलले बिहान साढे ५ बजेतिर ठक्कर दिएको वानेश्वर प्रहरी वृत्तले जनाएको छ । घाइते तीनैजनाको मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।