विस्तार होला त सुर्खेत विमानस्थल ?
‘भेरीगंगाको विमानस्थल देखाउने विमानस्थल हो, अहिले जुन विमानस्थलका प्रधानमन्त्रीज्यू उत्रिनुभएको उक्त विमानस्थललाई समय सापेक्ष विस्तार र अभिवृद्धि गरी एटीआरको विमानलाई सहज अवतरण गर्ने विमानस्थलमा रूपान्तरण गरौँ ।’ प्रदेश स्थापना दिवसको दिनमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै अगाडि चर्को स्वरमा भनेका शब्द हुन् ।
कँडेलले अन्य सार्वजनिक कार्यक्रम र संसद्मा पनि पछिल्लो समय वर्तमान विमानस्थललाई नै विस्तार गर्नुपर्ने आवाज उठाइरहेका छन् । सोही दिन कर्णालीको निजी क्षेत्रले पनि सुर्खेत विमानस्थलको विस्तार कार्य तत्काल अगाडि बढाउनुपर्ने भन्दै ज्ञापनपत्र नै बुझायो । यद्यपि सुर्खेत विमानस्थल विस्तारको च्याप्टर ०७८ फागुन अन्तिम सातातिर तात्कालिक मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘क्लोज’ गरिदिएका थिए । त्यो बेलामा कँडेल लगायतका नेता र स्थानीयले समेत विस्तारका सहयोग नगरेको र दबाब थेग्न नसकेको भन्दै विस्तारको विषय क्लोज गरिएको थियो ।
नागरिकले दुःख पाएको बताउँदै त्यो बेला शाहीले भनेका थिए भने, ‘जग्गा पुनः जाने डर जग्गाधनीमा छ । नागरिक त्रसित भएकाले नयाँ विकल्प नभएसम्म विमानस्थल बिस्तार हुँदैन । अहिले जे छ, त्यसमै सीमित राखौँ, यसमा कुनै सम्झौता हुँदैन ।’ त्यस पश्चात् पनि कर्णालीको निजी क्षेत्रले वर्तमान विमानस्थल विस्तार कार्यमा देखिएका समस्या समाधान गर्दै विस्तार कार्यलाई अगाडि बढाइनुपर्ने भन्दै मुख्यमन्त्री कार्यालयमा नै गएर ध्यानाकर्षण गराएको थियो । तर, सरकारले ‘च्याप्टर क्लोज’ गरेपछि विषय सेलायो । ०७४ पछि निरन्तर बजेट, नीति तथा कार्यक्रममा पर्ने तर, कार्यान्वयन नहुने गरेको योजना थियो ।