‘नेतालाई गाली गरेर मुख थाक्छ, तर उनीहरु सुध्रिंदैनन्’
गाईजात्राको तिथि नजिकिंदै जाँदा अभिनेता हरिवंश आचार्य भने म्युजिक भिडियोको धपेडीबीच भेटिए । त्यसबेला उनी आफ्नो एक गीति भिडियो सार्वजनिक गर्ने सुरसार गर्दै थिए ।
बितेको केही समययता हरिवंश आचार्य गीत गाउने र म्युजिक भिडियोमा केन्द्रित देखिन्छन् । हास्य रसयुक्त ती गीति भिडियोले अपेक्षाकृत चर्चा पनि बटुलेको छ । यद्यपि उनलाई दर्शकले त्यही आवरणमा हेर्न र सुन्न चाहन्छन्, जुन विगतमा हास्य टेलिशृंखला र फिल्महरुमा देख्दै आएका थिए ।
लालपूर्जा, १५ गते जस्ता टेलिशृंखलामा होस् वा महजात्रा नै, हरिवंश र मदनकृष्ण हास्य-तरंग आजसम्म कायमै छ । सिनेमा पनि यी जोडीको जोडदार उपस्थिति स्मरणयोग्य छ । तर अहिले यतातिर उनीहरुको सक्रियता देखिंदैन ।
टेलिफिल्म, महजात्रा जस्ता कार्यक्रमबाट जसरी विकृत नेता र विसंगत राजनीतिप्रति कटाक्ष गर्थे, त्यो पनि अहिले मत्थर भएको छ ।