एउटा मोबाइल देख्ने भन्सारले किन देख्दैन १०० किलो सुन ?
त्रिभुवन विमानस्थल भन्सार कार्यालय यतिबेला सुन तस्करी प्रकरणले बद्नाम छ । एकैपटक करिब एक सय किलो सुन भन्सार कार्यालयबाट बाहिरिएपछि राजस्व अनुसन्धान विभागको टोलीले सुनसहित तस्करको समूहलाई पक्राउ गरेको थियो । सोही प्रकरणमा आइतबारसम्म १८ जनालाई विभागको टोलीले पक्राउ गरिसकेको छ ।
भन्सारमा रहेको अत्याधुनिक मेसिनले एक सय किलो सुन नदेखेको भन्दै यतिबेला चर्को आलोचना भइरहेको छ । खाडी मुलुकमा काम गरेर फर्किएका मजदुरले ल्याएको दुई थान मोबाइल, एक थान टिभी देख्ने भन्सारले एक क्वीन्टल सुनचाहिँ किन देखेन त ? के मजदुरको मोबाइल देख्ने भन्सारले सुन नदेखेकै हो कि सेटिङमा पास गराइएको हो ? यतिबेला सामाजिक सञ्जालमा आक्रोश छ, ‘भन्सारको मेसिनले दुई थान मोबाइल देख्छ, तर किलोका किलो सुन देख्दैन ।’
तथ्यले पनि त्यस्तै देखाइरहेको छ । विदेशमा काम गरेर फर्किएकाहरुले आफ्ना परिवारका सदस्यका लागि ल्याएको मोबाइल देखेपछि राजस्व नतिरेसम्म भन्सारका कर्मचारीले ल्याउन दिँदैनन् । तर भन्सार कार्यालयबाटै सय किलो सुन तस्करी हुँदा किन देखेन त ?
जतिबेला त्रिभुवन विमानस्थल, भन्सार कार्यालयबाट एक सय किलो सुन तस्करी भएर बाहिर आयो, त्यतिबेला भन्सार कार्यालयका प्रमुख अरुण पोखरेल बिदामा थिए । विमानस्थल भन्सार कार्यालयको जिम्मेवारी नारद गौतमको काँधमा थियो । सोही समयमा भन्सार कार्यालयबाट पास भइसकेको अवस्थामा एक सय किलो सुन राजस्व अनुसन्धान विभागका कर्मचारीले नियन्त्रणमा लिएका थिए । दुई थान मोबाइल देख्ने भन्सारका कर्मचारीले यति धेरै सुन किन देखेनन् त ? हामीले यही प्रश्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयका उपसचिव नारद गौतमलाई सोधेका थियौँ ।
उनले मोबाइल र सुनको प्रकृति केही फरक हुने र सुन तस्करी हुँदा एक्स–रेमा फरक संकेत दिने बताए । यद्यपि त्यस्तो वस्तु सुन नै हो कि होइन भनेर यकिनका साथ भन्न नसकिने र त्यसको थप चेकजाँच गरिसकेपछि मात्रै उक्त वस्तुबारे जानकारी हुने गौतमले बताए ।
उपसचिव गौतमका अनुसार विमानस्थलमा भन्सारसम्बन्धी काम गर्न चार वटा युनिट हुन्छ । एउटा युनिट अन्तर्राष्ट्रिय टर्मिनलको यात्रु आगमन कक्षमा हुन्छ । अर्को नेपालबाट बाहिर सामान पठाउनका लागि प्रयोग हुने निर्यात शाखा हुन्छ भने तेस्रो हुलाकमार्फत् पैठारी भइ आउने सामानको लागि डिल्लीबजारमा वैदेशिक हुलाक शाखा छ । वैदेशिक हुलाक मार्फत् आउने सामानहरुको भन्सार जाँचपासका लागि पनि त्यहाँ भन्सारको कार्यालय रहेको हुन्छ । अनि चौथो भनेको एलसी खोलेर आउने सामान वा पैठारीकर्ताले अन्यत्रबाट ल्याएको सामानको निरीक्षण र भन्सार जाँचपास गर्ने हुन्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ६ हजारको हाराहारीमा यात्रुको आगमन हुन्छ । जसमध्ये करिब ५ हजार जना नेपाली नागरिक र करिब एक हजार जना विदेशी नागरिक हुन्छन् । उनीहरुका लागि सेवा दिन विमानस्थलको भन्सार कार्यालयमा खटिने कर्मचारीको सङ्ख्या र सेवा दिनुपर्ने व्यक्तिको सङ्ख्या हेर्दा पनि सेवा दिन गाह्रो भएको गौतमले बताए ।