काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा जाँदा बैंकहरूले थप पूँजीकोष कायम गर्नुपर्छ ?
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा लैजाने भएसँगै बैंकहरुले कर्जा विस्तारमा थप संयमित हुनुपर्ने भएको छ ।
कुल गार्हस्थ उत्पादनको वृद्धिदर र निजी क्षेत्रमा प्रवाह हुने कर्जाको वृद्धिदरबीचको अन्तर बढ्दै गएर निजी क्षेत्र ऋणको अधिक भारमा पर्दै गएपछि राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा ल्याएको थियो । तर, कार्यान्वयनमा जान नपाउँदै कोभिड–१९ को महामारी आएकाले आर्थिक वर्ष (आव) २०७६/७७ मा राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफर स्थगित गरेको थियो ।
गत आर्थिक वर्षको मौद्रिक नीतिमा भएको व्यवस्थाअनुसार चालु आवबाट उक्त व्यवस्था पुनः कार्यान्वयनमा गएको छ । त्यसले गर्दा बैंकहरुलाई कर्जा विस्तार गर्न संयमित हुनुपर्ने अवस्था आएको हो । गत आर्थिक वर्षको मौद्रिक नीतिको व्यवस्था अनुसार १८ साउन नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै १ साउन २०८० देखि काउन्टर साइक्लिकल बफर कार्यान्वयन गर्ने बताएको थियो ।