नयाँ आर्थिक वर्षमा नयाँ ब्याजदर : कुन बैंकमा पैसा राख्दा पाइन्छ बढी ब्याज ?
बैंकहरूले साउन महिनाका लागि नयाँ ब्या
जदर सार्वजनिक गरेका छन् । बैंक ब्याजदर नीति अनुसार आउँदो महिनाका लागि जारी महिनाको अन्तिम दिन अर्थात् मसान्त अघि नै नयाँ ब्याजदर प्रस्ताव गर्नुपर्ने राष्ट्र बैंकको नीति बमोजिम वाणिज्य बैंकहरूले आइतबार नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
आउँदो महिना नयाँ आर्थिक वर्ष २०८०/८१ को सुरुवाति महिना समेत भएकाले घट्दो ब्याजदरमा आर्थिक वर्ष सुरुवात हुने भएको छ । गत बिहीबार बसेको बैंकर्स संघको बैठकले आगामी महिनाका लागि खुल्ला ब्याजदर नीति (ब्याजदर तोक्ने अधिकार बैंकहरूलाई नै) दिने निर्णय गरेको थियो । ब्याजदरको विषयमा बैंकहरूले मिलेर कार्टेलिङ गरेको भन्दै चौथर्फी विरोध भएपछि संघ ब्याजदरको विषयमा खुल्ला नीतिमा जान बाध्य भएको हो ।
सोही खुल्ला नीति अनुरूप बैंकहरूले आगामी महिनाका लागि निक्षेपमा न्यूनतम ९ प्रतिशतदेखि अधिकतम १०.९८ प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।