गोरखामा जन्ती बोकेको जिप दुर्घटना, पाँच जनाको मृत्यु बाह्र जना घाईते
काठमाडौं । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ, भने १२ जना घाईते भएका छन् ।
शुक्रवार बिहान शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ सिलिङकोट बेहुलीको घरबाट दुलही बोकेर फर्किदै गरेको जिप शहीद लखन ३ पात्लेखोलामादुर्घटना हुँदा पाँच जनाको घटना स्थलमै मृत्यु भएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।
‘जिपमा सवार १९ जनामध्ये पाँच जनाको घटना स्थलमै मृत्यु भएको छ । ११ जना घाइतेको आबुखैरेनी हस्पिटल र गम्भीर घाईते भएका सहिद लखन गाउँपालिका ५ का ३८ वर्षीय लालु थापालाई थप उपचारको लागि चितवन मेडिकल कलेज रिफर गरिएको छ ।’
त्यस्तै,मृतकहरुको सनाखत भैनसकेको भुसालले जानकारी दिए ।
घाईते हुनेहरुमा, गोरखा शहिद लखनगा.पा. ५ बस्ने ३८ वर्षीय लालु थापा, २१ बर्षीय सुरज राना, ६० बर्षीय नर बहादुर थापा, २५ वर्षीय जिपचालक दोष बहादुर थापा, ३० वर्षीय होमबहादुर राना, १३ वर्षकी सन्दिपा राना, १८ बर्षीय सुरज थापा, ३० बर्षीय कुलबहादुर राना, ३७ बर्षीय चन्द्र थापा, २० बर्षकी लक्ष्मी थापा, १४ वर्षकी मनिका राना र बर्ष १३ वर्षीय प्रतिक राना रहेका छन् । घाइते सबैको उपचार भैरहेको छ ।
प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार, आज बिहान करिव १ बजेतिर भएको दुर्घटनामा जिप सडकबाट लगभग २०० मिटर तल खसेकोछ ।
दुर्घटना स्थलमा खोज , उद्धार तथा सनाखतको कार्य जारी छ । उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विपदव्यवस्थापन समितिको टोली खटिएका छन् ।