ओलीले चितवन पुगेर भने- दिनेश कोइरालालाई जिताउनुस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका छन्।
चितवनमा घर बनाएका प्रचण्ड बास बस्नका निम्ति गोरखा पुगेको भन्दै उनले कटाक्ष गरेका हुन्।
‘चितवनमा धाकधक्कु लगाएर घर बनाएर बास बस्न गोरखा पुगे प्रचण्ड। चितवनमा आफ्नो घर बनाउने बाहेक के काम गर्नुभयो?’ ओलीले प्रश्न गरे।
ओलीले सत्ता गठबन्धनलाई म्याद गुज्रिएको औषधिको संज्ञा दिएका छन्।
‘पटक-पटक सरकारमा हुँदा पनि नेपाली कांग्रेस र माओवादीले केही गर्न सकेन। यिनीहरू म्याद गुज्रिएका औषधि हुन्। कुनै काम गर्नेवाला छैन,’ उनले भने।
चितवन क्षेत्र नम्बर ३ मा दिनेश कोइरालालाई जिताउन उनले आग्रह गरेका छन्।
कोइराला लोकतान्त्रिक चरित्रको मान्छे हो। राजनीति बुझेको मान्छे हो। नारायणीको तिरमा माछा चुनाव चिन्ह लिएर उठ्नुभएका कोइरालालाई जिताउन एमालेले सहयोग गरेको छ,’ ओलीले भने।
कोइराला कांग्रेसका केन्द्रीय सदस्य थिए। उनले बागी उम्मेदवारी दिएपछि कांग्रेसले ५ वर्षका लागि पार्टीबाट निकालेको छ। चितवन ३ मा एमालेले आफ्नो उम्मेदवारलाई पछि हटाउँदै कोइरालालाई सहयोग गर्ने यसअघि बताएको थियो।
एमालेलाई सुदृढ लोकतान्त्रिक शक्ति बनाउनका निम्ति विजयी गराउन ओलीले अपिल गरेका छन्।