राज्यमन्त्रीले भने–भारतले बक्यौता नतिरे तेल दिन्न भनेको छ, निगम भन्छ–जानकारी छैन
प्रधानमन्त्री कार्यालयका विना विभागीय राज्यमन्त्री उमेश श्रेष्ठले भारतले तेल खरिदबापतको बक्यौता नतिरे तेल आयात रोक्ने चतावनी दिएको बताएका छन् ।
शुक्रबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले आफूलाई यस्तो जानकारी दिएको बताएका हुन् ।
‘अघि भर्खर म उद्योगमन्त्री ज्यूसँग भेटेर आएँ,’ उनले भने, ‘२३ अर्ब रुपैयाँ तिर्न नसके हामी तेल दिन्नौं भनेर भारतले भनिरहेको छ ।’
तर, नेपाल आयल निगमले भने बक्यौता नतिरे तेल बिक्री रोक्ने भन्ने कुनै आपचारिक जानकारी नभएको जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्ययले यस्तो कुरा पहिलो पटक सुनेको बताए ।