प्राधिकरण र केयूकेएललाई बालेनको प्रश्न : भत्केको सडक कहिले बन्छ ?
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले बिजुलीको तार भूमिगत गर्न र खानेपानीको पाइप बिच्छ्याउन भत्काइएको सडकको संरचना कहिलेसम्म बन्छ भनेर सरोकारवालासँग प्रश्न गरेका छन् ।
मंगलबारको पूर्वाधार विकास समन्वय बैठकमा मेयर साहले नेपाल विद्युत् प्राधिकरण र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अधिकारीहरूसँग यस्तो प्रश्न गरेका हुन् ।मेयर साहले रानीबारी, बालुवाटार, विशालनगर, धुम्बाराही, हाँडीगाउँ, माली गाउँ, कालो पुल, नयाँ बसपार्क लगायत क्षेत्रमा बिजुलीको तार भूमिगत गरेपछि अलपत्र अवस्थामा छोडिएको सडक बनाउने कामबारे प्राधिकरणका अधिकारीहरुसँग प्रश्न गरेका हुन् । बिजुलीको तार भूमिगत गरिएपछि पैदल मार्गमा समेत क्षति पुगेको भन्दै उनले महानगरले गर्नुपर्ने काम भने तदारुकताका साथ गरिने बताए ।बैठकमा मेयर साहले खानेपानीको पाइप बिच्छ्याउन भत्काइएको वडा नम्बर १३, १४, १५ र २६ का सडक कहिलेसम्म कालोपत्रे हुन्छ भन्नेबारे केयूकेएलका अधिकारीहरुसँग पनि प्रश्न गरेका छन् । खानेपानीको पाइप बिच्छ्याउनका लागि सहमति भएका वडा २, ३, ४ र ५ को काम कसरी हुँदैछ भन्ने बारे पनि उनले जानकारी लिएका थिए ।