प्रदेश १ को नामकरण पहिचानमा अड्कियो, सगरमाथाको च्याप्टर क्लोज
प्रदेश १ प्रदेश सभाको अन्तिम तथा दसौं अधिवेशनबाट बजेट पारित भएपछि दलहरू नामकरणको गृहकार्यमा जुटेका छन् । सभामुख प्रदीपकुमार भण्डारीले अनिश्चित कालका लागि प्रदेशसभा बैठक स्थगित गरेका छन् । दलहरुलाई नामका विषयमा छलफलका लागि उनले बजेट पारितपछि बैठकको मिति नतोकेका हुन् ।
अन्तिम अधिवेशनबाट नाम राख्ने गृहकार्यमा जुटेका दलहरु पहिचान की भूगोलका आधारमा अगाडि बढ्ने भन्ने टुङ्गोमा पुगेका छैनन् ।
नेकपा एमाले भूगोललाई आधार मान्नुपर्ने पक्षमा छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी पहिचान जोड्नुपर्ने पक्षमा छ । नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला कांग्रेस पहिचान र भूगोल दुवै पक्ष स्वीकार गर्ने बताउँछन् ।
नामका लागि सहजीकरण गर्ने बताउँदै उनले भने, ‘हामी कुनै अडानमा छैनौं, जुनसुकै नाममा भएपनि सहमति गर्ने पक्षमा छौं, यही अधिवेशनबाट नाम टुङ्गो लगाउने पक्षमा छौं ।’