इन्धन खरिदमा जनकपुरधामको एक वर्षमै एक करोड खर्च, महालेखाले उठायो प्रश्न
जनकपुरधाम उपमहानगरपालिकाले सरकारी गाडीका लागि एक वर्षमै झण्डै एक करोड रुपैयाँको इन्धन खरिद गरेको पाइएको छ ।
हालै सार्वजनिक महालेखा परीक्षकको प्रतिवेदनले इन्धनमा भएको खर्च विवरण सार्वजनिक गर्दै सरकारी सवारी साधन सरकारी काममा मात्र प्रयोग नगरेको र अनधिकृत व्यक्तिले पनि प्रयोग गरेको देखिएको उल्लेख गरेको छ ।महालेखाको प्रतिवेदन अनुसार उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा इन्धनमा ८५ लाख ६९ हजार १५९ रुपैयाँ खर्च गरेको छ । इन्धन खर्चको मापदण्ड तयार नगरेको, सवारी साधन अनुसार वार्षिक इन्धन खर्च र उपयोगको विवरण खुल्ने गरी अभिलेखसमेत नराखेको महालेखाले जनाएको छ ।