एमालेको असफल राजनीतिक सिलसिला
२०७७ सालदेखि शृङ्खलाबद्ध रूपमा राजनीतिक क्षति बेहोर्दै आएको नेकपा एमाले हालै सम्पन्न उपसभामुखको निर्वाचनमा पनि पराजित भयो ।
२०७४ सालको संसदीय र स्थानीय निर्वाचनमा वाम गठबन्धनमार्फत करिब दुई तिहाइ मत प्राप्त गरेको एमाले यतिखेर लगभग सबै तह र निकायमा प्रतिपक्षमा पछारिएको छ ।नेपाल कम्युनिस्ट पार्टी नेकपा (खासगरी एमाले) पार्टीको आन्तरिक विवाद, अन्तर्द्वन्द्व, शीर्ष नेताहरूका व्यक्तिगत महत्वाकांक्षा र आपसी खिचातानीका कारण प्रतिनिधिसभा भङ्ग गरिएपछि नेकपा एमाले राजनीतिक रूपमा निरन्तर ओरालो लागेको लाग्यै छ । पार्टीमा उपतीभन्दा झन् खती भएको छ । तथापि एमाले नेतृत्व भने आफ्नै फगत आत्मरतिमा रमाएको देखिन्छ ।संघ, प्रदेश र स्थानीय तहमा करिब दुई तिहाइको जनमत र विभिन्न संघसंस्थामा वर्चस्व जमाएको एमालेसँग यतिखेर न संघीय सरकार छ न त प्रदेश सरकारहरू नै । न स्थानीय सरकारमा पर्याप्त नेतृत्व छ, न त विभिन्न सामाजिक संघ-संस्थाहरूमा दह्रो पकड नै । चारैतिरबाट घेराबन्दीमा परेर शृफ्लाबद्ध रूपमा पराजित भइरहँदा पनि एमाले नेतृत्वमा न पछुतो देखिन्छ, न चिन्ता र अफशोच नै । न पार्टी पराजयको गम्भीर समीक्षा गर्न सकेको छ न पुनरुत्थानको कुनै उचित योजना नै । न त घेराबन्दीबाट उम्किने कुनै विशेष पहल र प्रयास नै ।शक्तिशाली मानिएको एमाले यतिखेर अरू कसैका कारण नभई आफ्नै कमजोरीका कारण चारैतिरबाट घेराबन्दीमा परेकोे छ र निरन्तर पराजयको शृङ्खला बेहोर्दैछ ।