आगामी तीन वर्षमा राष्ट्रिय गौरवका आयोजनालाई पौने ४ खर्ब बजेट
नेपालमा राष्ट्रिय गौरवका रुपमा घोषित दुई दर्जन आयोजनाले आगामी तीन आर्थिक वर्षका लागि पौने ४ खर्ब रुपैयाँ बजेट पाउने भएका छन् । राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यमकालीन खर्च संरचना प्रतिवेदन अनुसार राष्ट्रिय गौरवका यी आयोजनाले ३ खर्ब ८३ अर्ब ४ करोड ६२ लाख रुपैयाँ बजेट प्राप्त गर्नेछन् ।
आयोगका अनुसार राष्ट्रिय गौरवका आयोजनालाई आगामी आर्थिक वर्ष २०७९/८० मा ९८ अर्ब ८१ करोड ३९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यो अर्को आवमा २०८०/८१ मा १ खर्ब ३५ अर्ब ९८ करोड रुपैयाँ पुग्ने छ । त्यसपछिको आवमा राष्ट्रिय गौरवका आयोजनाले १ खर्ब ४८ अर्ब २४ करोड रुपैयाँ बजेट पाउने अनुमान आयोगको छ ।