यस्तो हुनेछ एक अर्ब १६ करोड लगानीको होटल 'वर्णवास'
काठमाडौंमा 'लक्जरियस' बुटिक होटल सञ्चालनमा आउने भएको छ। नक्साल र बालुवाटारको बीचमा संग्रहालयसहितको बुटिक होटल 'वर्णवास' खुल्ने भएको हो।
आगामी पाँच महिनाभित्र आधिकारिक रूपमा खुल्ने गरी काम भइरहेको होटलका मुख्य सञ्चालक राजेन्द्र बजगाईंले बताए। पर्यटन व्यवसायी बजगाईंका अनुसार हाल होटलको अन्तिम चरणको फिनिसिङ र सजावट हुँदैछ। यसको कुल लगानी एक अर्ब १६ करोड रूपैयाँ छ। वर्णवास होटल परिसर प्रवेश गर्दा विभिन्न समुदायका संस्कृति झल्किने कला सजाइनेछ। त्यस्तै संग्रहालयमा नेपाल चिनाउने सामग्री राखिनेछ।
संग्रहालय भनेको पुराना र जीर्ण सामग्री संकलन गरेर सजाउने ठाउँ मात्र होइन,' राजेन्द्रले सेतोपाटीसँग भने, 'यहाँ धेरै समुदायका संस्कृति झल्कने कलाहरू राखिनेछ, यसले पर्यटकलाई आकर्षित गर्नेछ।'
राजेन्द्रका अनुसार साढे नौ तलाको होटल तीन तहमा विभाजित छ। ती तहले नेपालको हिमाल, पहाड र तराई क्षेत्र झल्काउँछ। तीनै तहमा मूल आदिवासी समुदायका वेशभूषा, रहनसहन र संस्कृति झल्काउने सामग्री सजाइनेछ।होटलको भुँइतलामा आर्ट ग्यालरी हुनेछ। पहिलो तलादेखि छैठौं तलासम्म कोठा छन्।पहिलो र दोस्रो तलामा 'थारू गेस्ट रूम' छ। यी कोठाका भित्ता थारू समुदायका घर, गोठ, भाँडाकुँडा, खेतबारीमा काम गरिरहेका लगायत जीवनशैली झल्काउने कलाले सजाइनेछ। राई र लिम्बू समुदाय चिनाउने चित्र यही तलामा राखिनेछ।
तेस्रो र चौथो तलामा गुरुङ गेस्ट रूम छ। यो तलाले गण्डकी क्षेत्रमा बसोबास गर्ने मगर, तामाङ र मुस्ताङका थकाली समुदायको संस्कृति र जीवनशैली चिनाउने उनले बताए।
पाँचौं तलामा 'गुरुङ कोरिडोर' र छैठौंमा 'शेर्पा गेस्ट रूम' हुनेछ।
होटलका कोठा चिनाउन अंकको सट्टा जातजातिको मौलिकता झल्किने नाम राखिएको हो। हरेक कोठाहरूमा फरकफरक जातीय समुदाय चिनाउने चित्र सजाइएको राजेन्द्र बताउँछन्।
होटलको नाम 'वर्णवास' हुनुको रहस्य पनि यही हो। राजेन्द्रका अनुसार होटलले सबै जसो नेपाली जातजातिको पहिचान दिने भएकाले उक्त नाम रोजिएको हो।
'हिमाल, पहाड र तराईलाई प्रतिनिधित्व गरेर वर्णवास बनाइएको हो,' उनले भने, 'यहाँ हरेक समुदायको संस्कृति, रहनसहन र जीवनशैलीका कलाहरू देख्न पाइनेछ। यस्तो सजावटले नेपाली संस्कृति र वेशभूषा संरक्षणमा पनि सहयोग पुग्नेछ।'छैठौं तलामा रेस्टुरेन्ट हुनेछ। यहाँ नेपाली फ्युजन, जापानी, कन्टिनेन्टल र चाइनिज किचन हुनेछ। होटल सञ्चालन भएपछि परिकार र स्वाद थप्ने योजना छ। रेस्टुरेन्टमा एकै पटकमा कम्तीमा ७० जनाले खाना खान सक्छन्।