छात्रामाथि दुर्व्यवहार गर्ने हेटौंडा क्याम्पसका दुई कर्मचारी निलम्बित
परीक्षा दिन पुगेका छात्रामाथि दुर्व्यवहार गर्ने दुई जना कर्मचारीलाई हेटौंडा क्याम्पसले निलम्बन गरेको छ।
बुधबार क्याम्पस र सरोकारवालाहरूबीच बसेको बैठकले स्नातक तह दोस्रो वर्षको परीक्षा दिन गएका छात्राहरूमाथि दुर्व्यवहार गर्ने दुई जना कार्यालय सहयोगीलाई निलम्बन गरेको क्याम्पसले जनाएको छ।ती कार्यालय सहयोगीहरू अबदेखि त्रिवि लगायतका कुनै परीक्षामा पनि सहभागी हुन नपाउने गरी निलम्बित भएका हुन्।
क्याम्पसले यस घटनाबारे छानबिन गर्न छानबिन समिति पनि बनाएको छ।
मंगलबारदेखि स्नातक तहको परीक्षा सुरू भएको थियो। त्यसक्रममा परीक्षा दिन गएका छात्राहरूमाथि कार्यालय सहयोगीहरूले चेक गरेका थिए। चेक गर्दा छात्राहरूलाई छुट्टै कोठामा लगेर कपडा खोल्न लगाएर दुर्व्यवहार गरेको खुलेको थियो।
त्यसरी दुर्व्यवहार गरेको खुलेपछि बुधबार बिहानै विद्यार्थीहरूले हेटौंडा क्याम्पसमा आन्दोलन गरेका थिए।
आन्दोलन गर्नेक्रममा विद्यार्थीहरूले क्याम्पसमा पनि तोडफोड गरेका थिए। तोडफोड गरेपछि प्रहरीले चार जनालाई नियन्त्रणमा पनि लिएको थियो।
पछि उनीहरूलाई अभिभावकको जिम्मामा छाडिएको हो।