लहानका उपमेयरविरुद्ध जबरजस्ती करणी प्रयासको उजुरी
लहान नगरपालिकाका उपमेयर राम चलितर महतोविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी प्रहरीमा परेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले अदालतबाट पक्राउ पूर्जी प्राप्त हुनासाथ आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिने बताए ।उपमेयर महतोले जागिर लगाइदिने भनेर स्थानीय एक महिलालाई आफ्नै कार्यकक्षमा लगेर जबरजस्ती करणी गर्न खोजेको किटानी जाहेरीमा उल्लेख छ । ‘सुरुमा कार्यालय बाहिर कुराकानी भयो, त्यसपछि आफ्नो कार्यकक्षको गोप्य कोठामा लगेर जबरजस्ती करणीको उद्योग गरेको आरोप छ,’ जिल्ला प्रहरी कार्यालय सिरहाका एकजना प्रहरी अधिकृतले बताए ।कम्प्युटर अपरेटर पदमा जागिरका लागि निवेदन दिएकी महिलालाई दुर्व्यवहार गरेको आरोप उनीमाथि छ ।
यो गत जेठ महिनाको घटना हो । तर उजुरी भने प्रहरी कार्यालयमा दुई दिन अगाडि मात्र दर्ता भएको छ । सुरुमा प्रहरीले उजुरी लिन मानेको थिएन । तर अधिकारकर्मीहरुको पहलमा प्रहरीले उजुरी दर्ता गरेर आवश्यक कारबाहीको प्रक्रिया अघि बढाएको छ ।
आरोपीलाई पक्राउ गर्नुअघि अदालतबाट पक्राउ पूर्जी लिनुपर्ने भएकाले प्रहरीले निवेदन दिएको थियो । ‘बिहीबार अपराह्न चार बजेसम्म पनि पक्राउका लागि अनुमति आएको थिएन, आज फलो गर्छौं,’ सिरहाका एकजना प्रहरी अधिकृतले भने ।
महतो जनता समाजवादी पार्टीका महतो गत स्थानीय तह निर्वाचनमा लहान नगरपालिकाको उपमेयरमा निर्वाचित भएका थिए ।
प्रहरीमा उजुरी परेपछि उनी सम्पर्कविहीन छन् । उनको मोबाइल फोन पनि स्विच्ड अफ छ ।