सुदूरपश्चिममा बजेट विवाद : संशोधन नगरी पास नगर्ने सत्तारुढ सांसदहरुकै अडान
सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दलकै सांसदले बजेटप्रति असन्तुष्टि जनाएका छन् । र, उनीहरुले आगामी आर्थिक वर्षको बजेट पारित गर्न नदिने चेतावनी दिइरहेका छन् ।
असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि प्रदेश सभा बैठक बस्न नसक्दा बजेटमाथि छलफल हुनै सकेको छैन ।८ असारमा बजेटमाथि छलफल गर्न बोलाएको बैठक सत्ता पक्ष र प्रतिपक्ष दलका प्रदेश सभा सदस्यहरुले चल्न नदिने चेतावनी दिएपछि सरकारको आग्रहमा सभामुख अर्जुनबहादुर थापाले १२ गतेसम्म स्थगित गरेका थिए । १२ गतेसम्म पनि सहमति नजुटेपछि १६ गतेका लागि सारियो, तर १६ गते समेत सहमति नभएकै कारण बैठक अनिश्चितकालका लागि स्थगित छ ।