भारत तर्फ जादै गरेको ८ ट्रक सुपारी सहित प्रहरी नियन्त्रणमा
भारत लैजान तयार गरिएको ८ ट्रक सुपारी प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका–१८ बुधनगर हुँदै भारततर्फ लैजान लागिएको ८ ट्रक सुपारी बिहीबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको सुपारी २ हजार ६७८ बोरा छ । ८ वटा ट्रकमा २ लाख १९ हजार ५९६ किलोग्राम सुपारी रहेको प्रहरीले बताएको छ ।
युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बरको भारतीय ट्रकसहित नियन्त्रणमा लिइएको सुपारीको नेपाली मूल्य साढे ८ करोड रूपैयाँ बराबर रहेको प्रहरीको भनाइ छ ।
तेस्रो मुलुकबाट आयात गरिएको सुपारी नेपालकै उत्पादन देखाएर केही वर्षयता भारततर्फ निर्यात हुँदै आएको छ । ठूलो परिणामाको सुपारी भारत जाँदै गरेको सूचना पाएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए । ‘सुपारी त लिगल बाटोबाटै जान खोजेको देखिन्छ,’ उनले भने, ‘तर एकै पटक ठूलो परिमाण भएका कारण अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।’