चीनलाई उछिन्ने भारतको ‘डेमोग्राफिक सिफ्ट’को अर्थ
सूचकहरू ठीकठाक रहे आगामी चार महिनामा विश्वको जनसङ्ख्या आठ अर्ब पुग्नेछ । अहिलेको जनसङ्ख्या ७ अर्ब ९५ करोडभन्दा बढी छ । १२ वर्षअघि विश्वको जनसङ्ख्या सात अर्ब थियो ।
थपिएको आठ अर्बमध्ये आधा एसियाको जनसांख्यिक विस्तारको परिणाम हो । कात्तिकभित्र जनगणनाको पूर्ण विवरण आउँदा करिब तीन लाख जनसङ्ख्या थपिएर नेपालको जनसङ्ख्या २ करोड ९४ लाख पुग्ने अनुमान छ ।
यो तथ्यांकको रोचक तथ्य के हो भने आठ अर्बको वैश्विक जनसङ्ख्या वृद्धिमा सबैभन्दा बढी योगदान नेपालको छिमेकी मुलुक भारतको छ । भारतले जनसङ्ख्याको आकारमा सन् २०२३ मा चीनलाई पनि उछिन्ने प्रक्षेपण छ । एसिया र अफ्रिकाले ९ अर्ब पुगुञ्जेलसम्म जनसङ्ख्या वृद्धिको नेतृत्व गर्नेछन्, जुन सन् २०३७ सम्म पूरा हुनेछन् ।
विश्वमा अहिले सबैभन्दा बढी चीनमा १ अर्ब ४५ करोड र दोस्रो भारतमा १ अर्ब ४० करोडको हारहारीमा जनसङ्ख्या छ । अमेरिकाको जनसङ्ख्या ३३ करोड मात्र छ । राष्ट्रसंघीय जनसङ्ख्या कोषले सन् २०८० को दशकमा विश्व जनसङ्ख्या करिब १०.४ अर्बसहित उच्च विन्दूमा पुग्ने र सन् २१०० सम्म त्यही आसपास स्थिर रहने प्रक्षेपण गरेको छ । औसत आयुमा भएको वृद्धि तथा घट्दो शिशु तथा मातृ मृत्युदरका कारण जनसङ्ख्या पहिलेभन्दा धेरै बढिरहेको विश्लेषण गरिएको छ ।
जनसांख्यिकीले कुनै पनि राष्ट्रको भाग्य निर्धारण गर्दैन तर यसले राष्ट्रको भविष्यलाई आकारित भने गर्छ । राष्ट्रसंघीय जनसङ्ख्या कोषकी कार्यकारी निर्देशक डा. नतालिया कनेमले विश्व जनसङ्ख्या आठ अर्ब पुग्न लागेको संघारलाई अवसर र चुनौति दुवै कोणबाट अथ्र्याएकी छन् ।
‘यो एक सफलताको कथा हो । प्रलयको दिनको परिदृश्य होइन’ उनको टिप्पणी छ, ‘चुनौतिका बीच पनि हाम्रो विश्व इतिहासको अहिलेसम्मकै एउटा यस्तो बिन्दुमा छ, जहाँ धेरै मानिस शिक्षित र स्वस्थ जीवन बाँच्ने अवस्थामा छन् ।’