उद्घाटन भएको तीन महिनामा पनि प्रयोगमा आएन वडा कार्यालय
उद्घाटन भएको तीन महिनासम्म पनि सिद्धार्थनगर नगरपालिका वडा नंं ६ को कार्यालयबाट काम सुरु भएको छैन ।
भवन निर्माण सम्पन्न नहुँदै हतारमा गत चैत १५ गते उद्घाटन भए पनि अहिलेसम्म नगरपालिकाको भवनबाटै वडाको काम सञ्चालन हुँदै आएको छ ।
वडावासी विवेकानन्द मल्लिकले निर्वाचनको मुखमा हतारहतारमा वडा कार्यालय उद्घाटन गरिए पनि तीन महिनासम्म वडावासी नगरपालिकाको भवनमा धाउनुपर्दा सास्ती भएको गुनासो गरे । ‘तीन महिनासम्म सेवा सञ्चालन गर्न नसक्ने भए हतारमा उद्घाटन गर्न किन हतार गरियो ?’ मल्लिकको प्रश्न छ । उक्त कार्यालय भवनको निवर्तमान मेयर हरिप्रसाद अधिकारीले उद्घाटन गरेका थिए ।
अर्का स्थानीय रामदयाल गुप्ताले दलीय स्वार्थ र आफूले जस लिन काम पूरा नहुँदै उद्घाटन गर्नु गलत प्रवृत्ति भएको बताए ।