नसम्झिएको एउटा नाम कल्याण शेरचन !
नेपाली लोक गीत क्षेत्रमा सबैभन्दा बढी सुनिने तर, सबैभन्दा कम सम्झिइने नाम हो, कल्याण शेरचन । नेपाली लोक गीत क्षेत्रलाई ‘कलिलो तामालाई सोध रामलाई’, ‘सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ’, ‘च्याङ्बा होइ च्याङ्बा, डम्फूले आज के भन्छ ?’ लगायत दर्जनौं कालजयी गीत उपहार सुम्पिए । तर, आफू सधैं गुमनाम रहे ।
ग्रामीण कुनाकन्दरामा गाइने सयौं मौलिक भाकालाई संकलन गरेर कालजयी बनाउन महत्वपूर्ण योगदान दिएका शेरचन ०६७ सालमा माघ २४ गते सदाका लागि अस्ताए । पित्तथैलीको क्यान्सरबाट थलिएका शेरचनको पोखरास्थित मणिपाल अस्पतालमा ६४ वर्षको उमेरमा निधन भएको थियो ।