प्रधानमन्त्री देउवामाथि शेखर समूहले लगायो गम्भीर आरोप
नेपाली काँग्रेसका नेता शेखर कोइराला समूहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीमाथि पाँच वटा प्रश्न उठाएको छ । देउवा नेतृत्वको गठबन्धनको सरकारले जनपक्षीय काम गर्न नसकेको शेखर समूहको निष्कर्ष छ ।
काठमाडौंको बत्तिसपुतलीमा बसेको उक्त समूहको बैठकले सरकारले जनजीविकाका मुद्दालाई सम्बोधन गर्न र जनतालाई राहत दिन नसकेको निष्कर्ष निकालेको हो । काँग्रेसले राजनीतिक प्रतिबद्धता जनाएको कुरा पनि कार्यान्वयन नगरेको बैठकपछि कोइराला पक्षीय केन्द्रीय सदस्य गोविन्द पोखरेलले बताए । उनका अनुसार राजश्व अनुसन्धान, सम्पत्ति सुद्धिकरण, राष्ट्रिय अनुसन्धान विभाग लगायत प्रधानमन्त्रीको मातहतबाट हटाउने काँग्रेसले संस्थागत निर्णय गरेको थियो । अहिले पनि उक्त निकाय प्रधानमन्त्री कार्यालय मातहत राखिनु पार्टीको प्रतिबद्धता विपरीत भएको शेखर समूहको ठहर छ । बजेट बनाउने बेला आर्थिक सुशासनको खिल्ली उठाइएको पोखरलेले बताए । उनले भने, ‘बजेट बनाउँदा ब्यापक नीतिगत भ्रष्टाचार गरिएको छ । यसलाई जतिसक्दो रोक्नुपर्छ भन्ने हाम्रो समूहको निष्कर्ष रह्यो ।’
साभार ः रातोपाटि