सामुदायिक वनमा कुरीलो र श्रीखण्ड खेती
डिभिजन वन कार्यालय दाङले सामुदायिक वनको खाली जग्गामा कुरिलो खेती शुरू गरेको छ ।
समूह/सहकारी मार्फत जडिबुटी खेती विस्तार कार्यक्रम कार्यान्वयनका लागि सामुदायिक वन समूहमा आवद्ध घरधुरी र कृषि सहकारीमा आवद्ध घरधुरीलाई केन्द्रित गरी कुरिलो खेती गर्न थालिएको हो।
सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध विपन्न समुदायको आयआर्जनमा सहयोग गर्ने उद्देश्यले खेती सुरू गरिएको हो।
बजारमा कुरिलोको माग अधिक छ।
घोराही उपमहानगरपालिका-१८ अखबरेमा रहेको बसन्त हरियाली सामुदायिक वनको खाली रहेको करिब २ हेक्टर क्षेत्रफलमा ६ हजार २ सय कुरिलोको बिरूवा र श्रीखण्ड रोपिएको हो।
यस्तै घोराही-४ को श्रमजिवी कृषि सहकारी समूहमा आबद्ध ३१ घरधुरीले आफ्नो कृषि बालीसँगै तरकारी खाने कुरीलो ७ हजार ५ सय बोट लगाएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिए। वन, वातावरण तथा भु-संरक्षण मन्त्रालयको ४ लाख र डिभिजन वन कार्यालयको थप २५ प्रतिशत लगानी तथा समूहका उपभोक्ताको सहभागितामा ६ हजार दुई सय कुरिलोका बिरूवा रोपिएको उनले बताए।
त्यस्तै करिब ४ हजार ५ सय बिरूवा वसन्त हरियाली सामुदायिक वनमा र करिब ५ हजार ७ सय श्रमजिवी कृषि सहकारी संस्था मार्फत रोपिएको हो।
लगाएको २ वर्षसम्म कुरिलोलाई राम्ररी मलजल र गोडमेल गरे प्रति १० वटा बोटबाट एक किलो कुरिलो निकाल्न सकिन्छ।
एउटा बोटबाट वर्षमा कम्तिमा ६ देखि ८ हप्तासम्म कुरिलोको टुसा शंकलन गर्न सकिन्छ।
हिले बजारमा कुरिलोको थोक मूल्य प्रतिकिलो ५ सय रूपैयाँ छ।
डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले कुरिलो खेतीका लागि वन समूहको प्रस्तावना अनुसार मन्त्रालय र डिभिजन वन कार्यालयले आर्थिक तथा प्राविधिक सहयोग गरेको हो।
कुरिलोको संरक्षकका लागि कार्यक्रमबाटै वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहलाई करिब २ सय मिटर तारबार गरिएको छ।