भारतमा बिजुली बेचेर एक महिनामा १ अर्ब ७२ करोड आम्दानी
नेपाल विद्युत प्राधिकरणले पछिल्लो एक महिना (२ जुन–३० जुन )मा भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) बजारमा प्रतिस्पर्धी दरमा बिजुली बेचेर १ अर्ब ७२ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ ।
प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठदेखि आईईएक्समा बिक्री सुरु गरेको थियो । सुरुमा दुई वटा विद्युतगृहको ३९ मेगावाट विद्युत दैनिक रुपमा आईईएक्समा बिक्री गरिएको थियो ।
त्यसपछि २७ जेठदेखि दैनिक रुपमा ३६४ मेगावाट विद्युत भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।
नेपाल विद्युत प्राधिकरणले भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणबाट ६ वटा जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत आईईएक्स मार्केटमा बिक्री गर्न स्वीकृति पाएको छ ।