निर्देशिका विपरीत अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी प्रतिस्पर्धामा
केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अहिले काठमाडौंमा भइरहेको छ । स्थानीय तह, जिल्ला, प्रदेशस्तरीय प्रतियोगिता हुँदै सात प्रदेशका टोलीहरुले विधिन्न ६ खेलका विधामा प्रतिस्पर्धा गरिरहेका छन् ।
निर्देशिका लत्याउँदै राष्ट्रपति रनिङ शिल्डको केन्द्रीय प्रतियोगितामा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी सहभागी भएको पाइएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० को चौथो संशोधनअनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी यो प्रतियोगितामा सहभागी हुन पाउँदैनन् ।
तर, गण्डकी प्रदेशबाट प्रतियोगितामा सहभागी भएका एकजना खेलाडी बादल कार्की अन्तर्राष्ट्रिय पदक विजेता हुन् । गत फागुनमा भारतको नागाल्याण्डमा आयोजित साफ क्रसकन्ट्री च्याम्पियनसिप अन्तर्गत ८ किलोमिटर दौडमा नेपालका लागि कांस्य जितेका बादलले राष्ट्रपति रनिङ शिल्डमा ३ हजार मिटर दौडतर्फ रजत पदक जितेका छन् ।
सो स्पर्धामा कर्णाली प्रदेशका अजय बिकले ९ मिनेट ४०.८ सेकेण्ड टाइमिङसहित स्वर्ण जित्दा साफ कांस्य विजेता बादलले ९ मिनेट ४१.४ सेकेण्डमा दूरी पूरा गरे ।