ओलीको प्रश्न : हामीले सरकार छाडेपछि मात्र ४९ अर्बको चामल कसरी आयात भयो ?
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि ४९ अर्ब रुपैयाँको चामल आयात भएको बताएका छन् ।
अखिल नेपाल किसान महासंघले शनिबार एमाले केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले कृषि प्रधान देशमा यति धेरै चामल आयात हुनु अशोभनीय भएको बताए ।
‘हामीले सरकार छाडेपछिको मात्र हिसाब गर्दा ४९ अर्बको चामल आयात कसरी भयो ?’ उनले प्रश्न गरे, ‘…यस्तो उर्बर देशमा जहाँ यति हिमाली नदीनाला, उर्बर फाँटहरु छन्, जहाँको जनसंख्या ३ करोड भन्दा कम छ, त्यस्तो देशमा किन हामी खाद्यान्नमा आत्मनिर्भर हुन नसकेर ४९ अर्बको आयात गर्छौं, यो अशोभनीय स्थिति हो ।’
सरकारले उपयुक्त नीति नलिएका कारण कृषि क्षेत्र धरासायी हुँदै गएको ओलीले बताए । सरकारले अझै पनि किसानका लागि मल ल्याउने प्रबन्ध गर्न नसकेको भन्दै उनले आलोचना गरे ।