माफीमा अल्झेको वाम तालमेल
प्रतिनिधिसभा विघटनसँगै तिक्ततापूर्ण सम्बन्धमा रहेका कम्युनिष्ट पार्टीहरुबीच स्थानीय निर्वाचनमा एकाध ठाउँमा चुनावी तालेमल भयो । पाँचदलीय सत्तारुढ गठबन्धनमा अरु दलसँग तालमेल नगर्ने सहमति भए पनि माओवादी केन्द्र र एकीकृत समाजवादी दुबैले स्थानीय स्तरमा एमालेसँग तालमेल गरे । स्थानीय चुनावमा यदाकदा भएको तालमेललाई अब प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनमा रुपान्तरण गर्नुपर्ने मत तीन वटै वाम घटक (एमाले, माओवादी र एकीकृत समाजवादीमा छ ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाल वाम तालमेलको पक्षमा वकालत गर्ने शीर्ष नेता हुन् । एकीकृत समाजवादीका शीर्ष नेता समेत रहेका खनालले गृहजिल्ला इलाममा एमालेसँग तालमेलको अभ्यास नै गरिसके । सत्ता गठबन्धनप्रति नेपाली कांग्रेस इमान्दार नबनेको निष्कर्ष निकालेका खनालले इलाम जिल्ला समन्वय समितिको चुनावमा एमालेसँग तालमेल गराएका थिए ।
११ महिना अगाडि एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीभित्र खनालकै कारण वाम गठबन्धन गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ । तर अहिलेसम्म आफ्नो दलको प्राथमिकतामा वर्तमान गठबन्धन नै रहेको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा बताउँछन् । भन्छन्, ‘नेगेटिभ–नेगेटिभको योगफल पोजेटिभ हुने रहेछ । नेपाली कांग्रेसले नै यो गठबन्धन जोगाउन चाहेन भने वाम गठबन्धन विकल्प हुने भयो ।’
वाम तालमेल र एकताको पक्षमा खुलेर लागेका अर्का नेता हुन्, वामेदव गौतम । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन हुँदा कुनै समूहमा नलागेका गौतमले गएको १५ असारमा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर वाम गठबन्धनको पक्षमा उभिन आग्रह गरेका थिए । भलै, वाम एकताको नाममा १४ असारमा छुट्टै दल गठन गरेर गौतमले पनि कम्युनिष्ट पार्टीको संख्या बढाएका छन् । तर यसलाई गौतम कम्युनिष्ट आन्दोलन जोगाउने प्रयोजनकै निम्ति भएको तर्क गर्छन् ।