तीन ठूला रुग्ण उद्योग सञ्चालनका लागि मोडालिटी तयार गर्दै सरकार
सरकारले तीन ठूला रुग्ण उद्योग आगामी आर्थिक वर्षदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । अर्थमन्त्री जर्नादन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसहितका सरकारी अधिकारी सम्मिलित मंगलबारको बैठकले यस्तो निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
बजेट घोषणाअनुसार रुग्ण भएर कुनै बेला सरकारले नै बन्द गर्ने घोषणा गरेका हेटौंडा कपडा उद्योग, वीरगञ्ज चिनी मिल र वीरगञ्जकै कृषि औजार कम्पनी उपयुक्त मोडलमा सरकार र निजी क्षेत्रले वा अन्य कुनै विकल्पमा चलाउने निर्णय भएको उद्योग सचिव अर्जुन पोख्रेलले जानकारी दिए ।अर्थमन्त्री शर्मा, उद्योगमन्त्री बडू, योजना आयोगका उपाध्यक्ष र दुवै मन्त्रालयका सचिव सम्मिलित बैठकले यी तीन उद्योगहरु सञ्चालन गर्ने र त्यसका अर्थ, उद्योग र कृषि मन्त्रालयले एक आपसमा समन्वय गर्ने निर्णय भएको पोख्रेलले बताए ।