लुम्बिनी प्रादेशिक अस्पतालमा निःशुल्क टिकट, रगतका लागि पैसा तिर्नु नपर्ने
लुम्बिनी प्रदेश सरकारले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र दाङस्थित राप्ती प्रादेशिक अस्पतालमा ओपिडी र इमर्जेन्सी टिकट तथा जनरल बेड निःशुल्क गरेको छ।
सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमै यी दुई वटा अस्पतालमा उपचारका लागि आउने बिरामीका लागि ओपिडी र इमर्जेन्सी टिकट तथा जनरल बेड निःशुल्क गर्ने घोषणा गरेको थियो। सोही घोषणा अनुरूप प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले आईतबार उक्त निःशुल्क सेवाको शुभारम्भ भएको घोषणा गरेका हुन्।
यसैगरी आईतबारदेखि नै लागू हुने गरि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीका लागि रगत समेत निःशुल्क गरिएको छ। निःशुल्क रगत प्राप्तीका लागि कुनै पनि सरकारी अस्पतालमा आएका बिरामीले चिकित्सकको सिफारिस लिएर रक्त सञ्चार सेवा केन्द्रमा जानुपर्ने छ।सरकारी अस्पतालमा आउने विरामीका लागि आवश्यक पर्ने रगत पनि सरकारले निःशुल्क गरेको हो। यसअघि रक्तदाताले निःशुल्क रूपमा रगत उपलब्ध गराए पनि व्याग लगायतका सामाग्रीको नाममा रगत प्रयोगकर्ताले प्रति व्याग ८ सय रूपैयाँ बुझाउँदै आएका थिए।