प्रहरी तालिममा लडेका भरत बोहराको उपचारको क्रममा मृत्यु
एघार महिनाअघि प्रशिक्षार्थी प्रहरी जवानमा छनोट भएका अछामको मेल्लेख गाउँपालिका-६ झडिगाउँका २१ वर्षीय भरत बोहराले तालिमको क्रममा ज्यान गएको छ । उनको कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो ।
बोहरा सुदूरपश्चिमको साविकको क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको प्रहरी तालिम केन्द्रमा नियमित तालिममा थिए । २२ असारको दिन नियमित तालिम अन्तरगत नै १० किलोमिटरको लामो दौड चलिरहेको थियो । आफ्नो पालो आएपछि अन्य प्रशिक्षार्थी प्रहरी जवानसँगै बोहराले पनि दौड सुरु गरे तर केही किलोमिटर पार नगर्दै उनी लडेर बेहोस भए । एकछिनमा आफैं उठेर पुनः दौडेका बोहरा १० किलोमिटर कटाउन करीब तीन सय मिटरको दुरी बाँकी छदै फेरि लडे ।
पुनः लडेर बेहोस भएका बोहरालाई तत्काल डोटीमा सामान्य उपचारपछि होस नखुलेपछि हेलीकोप्टरमार्फत कोहलपुरमा रहेको शिक्षण अस्पताल लगियो ।
शिक्षण अस्पतालमा उपचारका क्रममा बोहरा बेला-बेला होसमा आउने र फेरि बेहोस् हुने क्रम चलिरहेको थियो तर शनिबार अस्पतालले भरतलाई बचाउने प्रयास असफल भएको खबर सुनाएको भरतका काका शेरबहादुर बोहराले बताए ।