गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ६,३२० जनाले गरे यात्रा, व्यापार भने शून्य
नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई महिनाको अवधिमा वैदेशिक व्यापार ‘शून्य’ भएको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालका अनुसार यो भन्सार विन्दुबाट अहिलेसम्म व्यापारिक प्रयोजनका सामग्रीको आयात-निर्यात भएको छैन ।
‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीका बेला कूटनीतिक छुटमा केही सामान आएका थिए,’ उनले भने, ‘ती सामान फिर्ता पनि भए, ती भन्सार छुटका सामान थिए, अन्य सामानको आयात/निर्यात भएको छैन ।’
विमानस्थल यात्रुको आवतजावत मात्र हुने क्षेत्र नभएर वैदेशिक व्यापार गर्ने थलो पनि हो । तर, सरकारले विमानस्थलको उचित प्रवर्द्धन गर्न नसक्दा अझै पनि व्यापारीहरु यहाँ आकर्षित भइसकेका छैनन् ।
त्यसो त अहिले यो विमानस्थलमा जजिरा एयरवेजले मात्र उडान गरिरहेको छ । यो कम्पनीले साताको तीन उडान गर्छ । जजिराले कतारको दोहाबाट कुवेत हुँदै भैरहवामा उडान गर्छ । यस रुटमा वैदेशिक रोजगारीमा जाने र त्यहाँबाट फर्कने यात्रुको संख्या अधिक रहेका कारण वैदेशिक व्यापारसँग सम्बन्धित वस्तुको व्यापार हुन नसकेको हो ।काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वैदेशिक व्यापारको मुख्य बिन्दु मध्ये एक हो । आर्थिक वर्ष २०७८/७९ को जेठसम्म यो विमानस्थलबाट १ खर्ब ९२ अर्ब ८४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो कुल आयातको १०.९४ प्रतिशत हो । भन्सार बिन्दुमध्ये सबैभन्दा धेरै आयात वीरगञ्जबाट हुन्छ । यस भन्सार बिन्दुबाट कुल ३६.३७ प्रतिशत आयात हुन्छ । त्रिभुवन विमानस्थलबाट जेठ मसान्तसम्म २९ अर्ब २ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो कुल निर्यातको १५.६२ प्रतिशत हो ।